नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ का मतदाताका घरमा चुनावी प्रचारमा छन् । निर्वाचनलाई लक्षित हुँदै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा गएका हुन् । दक्षिण एसियाकै एक मात्र अर्बपति चौधरीले आफ्नो जीवनको ६५ बर्षमा कहिल्यै फेल नभएको बताएका छन् । `६५ बर्षको उमेरमा कहिल्यै फेर्ल नभएको म यहाँ बिकास गर्छु भनेर आए, बिकास गर्न सकिन भने फेल हुन्छु। यत्रो बर्षमा फेल नभएको मान्छे यहाँ फेल हुन आएको होइन।´ उनले भने। नेपालका ठाउँ-ठाउँमा उनका सफल व्यवसाय छन् । हजारौँलाई रोजगारी दिएको चौधरी ग्रुपका प्रमुख अनि धेरैका लागि प्रेरणाका स्रोत पनि हुन् उनी । जुनैसुकै क्षेत्रमा राजनीति भएपनि सही राजनीति कसैले गर्न नसकेको उनको दाबी छ । ‘राजनीतिमा त म पहिलेदेखि नै छु । संसद्मा थिएँ । वडामा गएर चुनाव लडेँ, निर्विरोध भएँ । ‘ उनले भने । अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाई छ । `विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हु । ´ कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग, व्यवसायलाई सफल पारेजसरी नै राजनीतिमार्फत देशलाई सफल बनाउने चाैधरी बताउँछन् । ‘यति धेरै राजनीति हुने देशको आर्थिक, सामाजिक चित्र हेर्नुस् त, कति भयानक छ ?’, उनले प्रश्न गरे, ‘तर आफ्नो त्रुटि स्वीकार्न कुनै पार्टी वा नेता तयारै छैनन् । आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न कुनै पार्टी गम्भीर छैनन् ।’ उनले भने, ‘म संसद्मा बसेँ । व्यवसायसँगै निजीक्षेत्रका संघ/संगठनहरुको नेतृत्व पनि गरेँ । ती संस्था शक्तिशाली पनि भए । तर, मैले स्वीकार्नुपर्छ, जनताका लागि ठूलो लाभ हुनेगरी परिवर्तन गर्न सकिनँ । र, परिवर्तन गर्ने भनेको राजनीतिबाटै हो भन्ने कुरा मैले महसुस गरेँ । सबैभन्दा ठूलो नीति भनेकै राजनीति हो । अर्कै क्षेत्रमार्फत मैले एउटा टोलमा परिवर्तन ल्याउन सकौँला, एउटा ग्राम बनाउन सकौँला, धाम बनाउन सकौँला, चाैधरी ग्रुप बनाउन सकौँला । तर, राष्ट्रव्यापी परिवर्तन ल्याउन नसकिने रहेछ । म यहाँ बसेर देश बनाउन सक्दिनँ । देश बनाउन मैले तय गरेका भिजन लागू गर्न आफ्नो हस्ताक्षर चल्ने ठाउँमा पुग्नैपर्छ । काठमाडौंको बुढानिलकण्ठ किन २ वटा बन्न सकेन त ? ताकि मेरो एउटा दस्तखतले ५० वटा बूढानीलकण्ठ स्कुल बनाउन सकियाेस् । ५० वटा ग्राम बनाउन सकियोस् । ५० वटा विशेष आर्थिक क्षेत्र बनाउन सकियोस् । यस्ता थुप्रै याेजना लागू गर्न सकिन्छ ।’ उनले थपे, ‘बिजनेस म्यान भनेका पैसाकाे थैली मात्र हुन् भन्ने साेच राजनीतिक दलहरूले त्याग्नुपर्याे । भिजन र प्रभावकारी याेजना भएकैले कुनै व्यवसायी सफल बनेकाे हुन्छ । ऊ सित देश बनाउने आइडिया पनि हुन्छ ।’ एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ । ‘एउटा विनोद चौधरी मात्रै होइन, आ-आफ्नो क्षेत्रमा सफल भएका, कुशल व्यवस्थापक, देशका लागि कार्यान्वयनयोग्य, जनमुखी भिजन भएकाहरू राजनीतिमा आउनैपर्छ । मेरो सक्रियता एउटा सन्देश पनि हो’, उनले भने । राजनीतितिर धारे हात लाउँदै देश बनेन भनेर आफूचाहिँ यसबाट नपन्छिन उनी क्षमता भएकाहरूलाई आग्रह गर्छन् । अनि राजनीतिमा युवाहरूकाे दबावमूलक सहभागितामा जाेड दिन्छन् । दलहरूले पनि नवीन र प्रभावकारी योजना भएका व्यक्तिहरूलाई ठाउँ दिनुपर्ने उनको भनाइ छ । ‘पहिलोचोटि संविधान लेख्ने जिम्मेवारी थियो । त्यो बेला संविधानसभामा आएको ठूलो दल फरक सोच र सिद्धान्तको थियो । अलग किसिमको सोचलाई उनीहरूले अगाडि बढाइरहेका थिए । यस क्रममा देशलाई हानि हुने अव्यवहारिक र अवैज्ञानिक कुराहरू संविधानमा नपरून् भनेर मजस्ता व्यवसायी संविधानसभामा गएका थियौँ’, उनले भने । कुनै पार्टीकाे सदस्यका रूपमा भन्दा पनि आर्थिक क्षेत्रको प्रतिनिधित्व गरेर आफूसहितका केही व्यवसायीहरू सरसल्लाह गरेरै विभिन्न दलको कोटाबाट संविधानसभामा गएकाे उनले बताए । त्यहाँ आफूहरू खरो रूपमा उत्रेकाे उनकाे दलिल छ । त्यसपछि आफूलाई पार्टीका नेतासँग राम्रो सम्बन्ध भएर वा हाउसमा बोलेर मात्रै परिवर्तन सम्भव नहुने रहेछ भन्ने महसुस भएकाे चाैधरी बताउँछन् । ‘त्यसका लागि त खेलाडी नै हुनुपर्ने रहेछ । त्यसैले स्पष्ट भिजन र नयाँ जोसका साथ पूर्णकालीन राजनीतिमा आएको हुँ । जनताले मलाई पत्याउनेछन्’, उनले विश्वाससमेत प्रकट गरे । मुलुकको आर्थिक समृद्धि नै आफ्नो राजनीतिक सपना भएको चौधरीले बताए । ‘आफ्ना लागि मेरो सपना केही छैन । नेपालबाट पढाइका लागि वार्षिक १ खर्ब रुपैयाँ विभिन्न देशका क्याम्पस र विश्वविद्यालयमा जाँदैछ । नेपालमा त्यस्तै अब्बल क्याम्पस र विश्वविद्यालय स्थापना गरेर यहाँबाट बाहिरिने खर्बाैं रुपैयाँ रोक्दै विदेशी पैसाचाहिँ भित्र्याउने मेरो साेच छ । यति मात्रै होइन, हरेक क्षेत्रमा यस्ता योजना लागू गर्न सकिन्छ,’ उनले भने । २०७८ सालमा कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्य चुनिएका उनी आउँदो ४ मंसिरमा नवलपरासी-१ मा प्रतिनिधिसभा सदस्यका लागि ‘ब्यालेट भिडन्त’ गर्दैछन् । यो क्षेत्रमा कांग्रेसले पछिल्ला दुई निर्वाचन लगातार हारेको छ । र, कांग्रेसका लागि चुनौती हुन्, जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी । २०७० सालमा बाहेक यो क्षेत्रमा त्रिपाठीले अरु कसैलाई जित्न दिएका छैनन् । संसद् छिर्ने प्रयासमा सफल हुन चौधरीले पाँचपल्टका विजेता त्रिपाठीलाई हराउनुपर्नेछ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।