पोखरा- नेपाल पुलिसका मुई लामाले भारोत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरेका छन्। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत उनले आइतबार स्न्याचमा ९६ केजी भार बहन गरी आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन्।
यसअघि महतोको एसियन गेम्स छनोटमा ९५ केजी तौल थियो। प्रतियोगितामा लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन्।
यस्तै, सोही तौल समूहमा रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे। उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो। उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरे। प्रतियोगितामा कुल १६८ भार उठाएका मधेश प्रदेशका हेमनारायण यादव कांस्यमा सीमित भए।
पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगितामा विभागीय टिम पुलिसले पहिलो दिनको खेलमा सर्वाधिक ३ स्वर्ण र १ रजत जितेको हो।
महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राईले स्वर्ण जितिन्। उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६७ केजी सहित कुल १२२ केजी तौल उठाउँदै पुलिसलाई स्वर्ण दिलाएकी हुन्। सोही स्पर्धामा बागमतीकी उत्साह पाण्डेले रजत र लुम्बिनी प्रदेशकी पवित्रा कुमारीले कांस्य जिते।
पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतोले १८९ तौलसहित स्वर्ण जिते। नेपाल पुलिसका दिलीप यादवले १६५ केजीसहित रजत र मधेश प्रदेशका धीरजकुमार गुप्ताले १६० तौलसहित कांस्य पदक हात पारे।
महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई उद्घाटन खेलमा पहिलो स्वर्ण दिलाएकी थिइन्। उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन्।
त्यस्तै, एपीएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कांस्य जितिन्।
एपीएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरेका थिए। सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
यस्तै, अर्को खेलमा नेपाल आर्मी क्लबले स्वर्ण जितेको छ। पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतोले पहिलो स्वर्ण दिलाएको रेफ्री बखतमान श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०/१० इभेन्टमा खेल हुनेछ। जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले जानकारी दिए। प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कांस्य पदकका लागि खेल हुने छन्।
आज ४ स्वर्णका लागि खेल हुँदै
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत दोस्रो दिन आज सोमबार पनि ४ इभेन्टमा खेल हुँदैछन्। पोखरा उद्योग वाणिज्य संघमा बिहान १० बजेदेखि सुरु हुने प्रतियोगितामा सोमबारका लागि महिला ५५ र ५९ तथा पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछ।
बिहानदेखि रातिसम्मै हुने प्रतियोगितामा समय रहे अर्को एक इभेन्ट पनि आजै खेलाउन सकिने नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले बताए।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० इभेन्टमा खेल हुनेछ, जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन्। प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

