Rashtriya Dainik

बाढी पहिरोमा परी १०१ जनाको मृत्यु, अझै ४१ जना बेपत्ता

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो ।

प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ । बाढीपहिरोमा परी प्रदेश–१ मा १३, प्रदेश–२ मा एक, लुम्बिनीमा तीन, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बाढीका कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । बाढी पहिरोले ४९ घर, आठ गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको । अहिलेसम्म १३९ पशु चौपायको मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७ परिवार विस्थापित भएका छन् ।

साथै बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा सार्ने र पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य पनि जारी रहेको जनाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित