मनोज लामिछाने, २०७८ जेठ २८ अहिले मेरी दिदीमा धेरै परिवर्तन आएको छ रे, पहिले मकैको ढिँडो र गुन्द्रुकले प्राण धान्नु पर्ने मेरी दिदी, अहिले मार्सी चामल नभई भुजा ज्युनार हुँदैन रे ।। पहिले भैँसीको मोहीसङ मकैको ठेट्ना निल्ने मेरी दिदी, अहिले पास्ता, पिजा, बर्गर र मम नभई पेट भरिँदैन रे ।। पहिले दितिको घरमा जाँदा रातभरि पानी चुहिएर, जागाराम बस्नु परेको थियो, अहिले त दिदीको काठमाडौँमा चार वटा त घरै छ रे ।। हिजो गाउँमा पहिलो पल्ट मोटर आउँदा, दिदी र म सँगै मोटर हेर्न गएका थियौ, त्यो दिन हामीलाई सगरमाथा चढे झैँ भान भएको थियो, अहिले मेरी दितिको पजेरो बिना पाऊ नै चल्दैन रे ।। तीन वर्ष सम्म एउटा फरिया फेर्न कठिन मेरी दिदीलाई, अहिले बिस हजार भन्दा कमको साडीमा आँखै जाँदैन रे ।। पहिले दिनभरि सबैसँग दुख सुखका कुरा गर्ने मेरी दिदी, अहिले कसैले फोन गर्दा, फोन उठाउन पनि गारो मान्छिन् रे ।। दिदीको मात्र होइन भिनाजुको पनि उस्तै चाला छ रे, पहिले जा माइला एक बोतल ठर्रा र लसुन सितनले भन्थे, अहिले त ब्ल्याक लेबल भन्दा कम त घाटीमा नै छिर्दैन रे, अहिले त किन हो कुन्नि, माहिलाको नाम सुन्ना साथ, भिनाजु त तीन हात पर भाग्छन् रे ।। पहिले आठ कक्षा पास गरेको मेरी भिनाजुलाई, सबैले गाउँ डुलुवा, ढिडोमारा भनेर गाउँभरि भन्थे, अहिले त हाम्रो गाउँको बडा हाकिम पनि, मेरी भिनाजु सँग थरर काम्छन् रे ।। अहिले गाउँभरि हल्ला छ, भिनाजुले पार्टी छोडे रे, अनि मेरी भिनाजु मन्त्री र दिदी मन्त्रिणी भएकी छिन् रे, त्यसैले होला मेरी दिदी र भिनाजुले यो माहिलालाई पनि बिर्सेको ।। देशमा धेरै राजनैतिक परिवर्तनहरू भए तर, जनताको जीवनस्तरमा परिवर्तन आएन भन्छन् रे, यो फजुल कुरा किन गरेको होला ?, अहिले मेरी दिदीमा आएको यो परिवर्तन, के परिवर्तन होइन र ? राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।