Rashtriya Dainik

सिलौटा बनाउँदै जीविका चलाउँदै कमलावती परिवार, पुस्तौँदेखिको सीप जोगाउन संघर्ष

अनिल बनिया/नवलपरासी, ११ चैत

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–२, आमानीगञ्जमा बिहान घाम झुल्किनासाथ गाउँभरि ढुङ्गा घिसारको आवाज गुञ्जिन्छ। शान्त वातावरणलाई चिर्दै सुनिने यो आवाज केवल श्रमको संकेत मात्र होइन, पुस्तौँदेखि जोगिँदै आएको परम्परागत सीपको जीवन्त प्रतीक पनि हो।

आधुनिक प्रविधिको तीव्र विस्तारसँगै हराउँदै गएको हस्तकलाको संसारमा यहाँको यो परम्परा अझै जीवित छ। यसैको प्रतिनिधित्व गर्छिन् कमलावती कुशवाडिया (पत्थरकट्टा), जसले तीन पुस्तादेखि सिलौटा, जाँता र ओखल बनाउने काम गर्दै आएकी छन्।

कुशवाडिया समुदाय परम्परागत रूपमा ढुङ्गासँग सम्बन्धित पेशामा आबद्ध रहँदै आएको छ। कमलावतीका लागि यो पेशा केवल जीविकोपार्जनको माध्यम मात्र नभई आफ्नो पहिचान र अस्तित्वसँग जोडिएको विषय हो। हामी यही पेशामा जन्मेका हौँ, यहीसँगै हाम्रो परिवारको इतिहास बाँचेको छ,उनी भन्छिन्।

तर यो परम्परागत सीप जोगाइराख्नु चुनौतीपूर्ण बन्दै गएको छ। सिलौटा बनाउन आवश्यक पर्ने उपयुक्त ढुङ्गा सहज रूपमा उपलब्ध नहुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। यसले उत्पादन लागत बढाउनुका साथै श्रमसमेत दोब्बर बनाएको छ। ढुङ्गा नपाउँदा काम नै रोकिन्छ,कमलावती भन्छिन्, महँगोमा ल्याउनुपर्छ, तर आम्दानी त्यति बढ्दैन।

कमलावतीको परिवारमा यो पेशा पुस्तान्तरित हुँदै आएको छ। उनका छोरा–बुहारी पनि यही काममा संलग्न छन्। श्रीमान्को निधनपछि पनि बुहारी सुनिता कुशवाडिया (पत्थरकट्टा)ले पेशालाई निरन्तरता दिँदै दुई छोरी र एक छोराको जिम्मेवारी सम्हालिरहेकी छन्। दिनभर ढुङ्गा घिसार्दा हातमा परेका घाउ र चिराहरूले उनको संघर्ष प्रष्ट देखाउँछन्। काम नगरे घर चल्दैन,उनी भन्छिन्, “गाह्रो छ, तर यही हाम्रो आधार हो।”

उनीहरूले सिलौटा, जाँता, ओखल, लोहोरो र खलबच्चा जस्ता सामग्री तयार गर्छन्। तयार सामग्री साइकिलमा राखेर गाउँ–गाउँ डुल्दै बिक्री गर्न जानुपर्ने अवस्था छ। बजारसम्म सहज पहुँच नहुँदा ग्राहक खोज्दै आफैं पुग्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।

स्थानीय बजारको अभाव र बिचौलियाको प्रभावका कारण उचित मूल्य पाउन पनि चुनौती छ। एक वटा सिलौटा वा जाँताको मूल्य एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म पर्ने भए पनि ढुङ्गा खरिद, ढुवानी, श्रम र समयको हिसाबले आम्दानी सन्तोषजनक छैन। दिनभरको मेहनतपछि पनि गुजारा टार्नै गाह्रो हुन्छ,उनीहरू बताउँछन्।

कमलावतीका अनुसार सरकारले सामाजिक भत्ता उपलब्ध गराए पनि परम्परागत पेशाको संरक्षण र प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन। यो पेशा जोगाउन राज्यले ध्यान दिनुपर्छ,उनी भन्छिन्, तालिम, कच्चा पदार्थको सहज उपलब्धता र बजारको व्यवस्था भए अझ धेरै मानिस यसमा लाग्न सक्छन्।

आधुनिक भान्सामा मिक्सर, ग्राइन्डर लगायतका विद्युतीय उपकरणको प्रयोग बढेसँगै सिलौटा–जाँताको माग क्रमशः घट्दै गएको छ। शहर केन्द्रित जीवनशैलीले परम्परागत सामग्रीको प्रयोगलाई सीमित बनाएको छ।

नयाँ पुस्तामा यसप्रति आकर्षण घट्दै जाँदा यो पेशा हराउने खतरा बढ्दै गएकोप्रति कमलावती र सुनिता चिन्तित छन्। हामीले छोड्यौँ भने यो सीप नै हराउन सक्छ,उनीहरू भन्छन्।

यद्यपि, स्थानीय समुदाय र राज्यको सहकार्य भए यो पुरानो सीप जोगाउन सकिने उनीहरूको विश्वास छ। परम्परागत हस्तकलालाई प्रवर्द्धन गर्दै पर्यटनसँग जोड्न सके यसले आर्थिक अवसरसमेत सिर्जना गर्न सक्ने सम्भावना छ।

बिहानदेखि बेलुकासम्म ढुङ्गा घिसारको आवाजले गाउँ गुञ्जिरहँदा हरेक सिलौटा, जाँता र ओखलमा कमलावती र सुनिताको मेहनत, धैर्य र पुस्तौँदेखिको अनुभव मिसिएको हुन्छ—जसले एउटा जीवित सांस्कृतिक इतिहास बोकेको छ।

पत्थरकट्टा (कुशवाडिया) समुदायको परिचय
ओखल, जाँता, सिलौटा, लोहोरो र खलबच्चा जस्ता ढुङ्गाका सामग्री बनाउने, ढुङ्गामा अक्षर तथा चित्र कुँद्ने, घर निर्माणका लागि ढुङ्गा काट्ने र आकार दिने कामका कारण कुशवाडिया समुदायलाई ‘पत्थरकट्टा’ भनिन्छ। यसैलाई ‘शिल्कट’ (शिलाकट्टा) पनि भन्ने गरिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित