राष्ट्रिय दैनिक / नवलपरासी, ५ फागुन ।
“जुनसुकै नेता आए पनि काम गर्दैनन्” भन्ने मतदाताको आक्रोशका बीच नेपाली कांग्रेस ले भने यसपटक फरक सन्देशसहित चुनावी मैदान तताएको छ। दक्ष, अनुभवी र काम गर्ने छविका उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य पदका प्रत्याशी भिम बहादुर थापा (भरत थापा) ले मतदाताको मन जित्दै गएको देखिएको छ।
चुनावी घरदैलोका क्रममा थापाले आक्रोशित मतदाताका गुनासा धैर्यपूर्वक सुन्दै “अब आश्वासन होइन, काम गरेर देखाउने समय आएको” स्पष्ट सन्देश दिएका छन्। उनले पार्टी र आफू दुवै सच्चिएर जनताको विश्वास जित्न मैदानमा उत्रिएको दाबी गर्दै ईमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचन क्षेत्र नं. २ अन्तर्गत रामग्राम नगरपालिका वडा नं. १६ हकुईमा आयोजित घरदैलो कार्यक्रममा थापाले समुन्नत नेपाल निर्माणका लागि कांग्रेससँग दीर्घकालीन तथा वृहद योजना रहेको जानकारी गराए। एक वृद्ध मतदाताले “चुनावअघि आश्वासन बाँड्ने तर पछि बेवास्ता गर्ने परम्परा कहिलेसम्म?” भन्ने प्रश्न उठाउँदा थापाले दृढ स्वरमा जवाफ दिए—“अब आश्वासन बाँड्ने दिन सकिएका छन्, काम गरेर देखाउने दिन सुरु भएको छ।”
उनले पार्टीभित्र नेतृत्व परिवर्तन भइसकेको उल्लेख गर्दै सयभन्दा बढी जोसिला र दक्ष युवालाई टिकट दिइएको बताए। “अब काम नगर्ने छुट कसैलाई छैन,” उनले जोड दिए। आफू यसपटक मात्र चुनाव लड्ने संकेत गर्दै जनताको मन जित्ने गरी काम गर्ने राजनीतिक यात्रा सुरु गरेको उनको भनाइ थियो।

थापाले चुनाव जितेमा जिल्लाका समस्यालाई सदनमा उठाएर कानुन तथा नीति निर्माणमार्फत समाधान खोज्ने, साथै भौतिक, आर्थिक र सामाजिक विकासका योजनालाई सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी अघि बढाउने प्रतिबद्धता जनाए।
सुनवल नगरपालिकाका पूर्व मेयर तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्यसमेत रहेका थापा विकासमुखी सोच र कार्यशैलीका कारण चिनिन्छन्। मेयरका रूपमा देखाएको कार्यसम्पादन र नतिजाले उनलाई जिल्लामा प्रभावशाली विकासप्रेमी नेताका रूपमा स्थापित गरेको समर्थकहरूको दाबी छ।

चुनावी प्रचार–प्रसार तीव्र बन्दै जाँदा थापाप्रति मतदाताको उत्साह र आशा बढ्दो देखिएको छ। आक्रोशबाट आशातर्फको यो यात्रामा कांग्रेसले कति विश्वास जित्न सक्छ, त्यो भने आगामी मतपरिणामले निर्धारण गर्नेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

