रामेछाप,५ फागुन ।
रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भिरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो ।
दुर्घटनास्थलबाट करिब २ सय ५० मिटर दक्षिणमा फेला परेको शवको सनाखत परिवारले गरेका छन्। प्रहरीले शवलाई पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याएको छ ।
गत माघ २७ गते सडकबाट भिरमा खसेको नेपाल अरनिको यातायात सेवा प्रालिको बस काठमाडौंबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको थियो।
दुर्घटनाको दिन १२ जनाको शव घटनास्थलमै फेला परेको थियो भने ८ जना घाइते भएका थिए। हराइरहेका ३ मध्ये सोमबार मात्र मन्थली–२ का ९ वर्षीय क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट किनारमा भेटिएको थियो।
दुर्घटनामा डुबेर मृत्यु भएका २ जनाको शव फेला परेपछि मृतकको संख्या १४ पुगेको छ। बसमा यात्रा गर्ने ८ वर्षीय बालक रोनिस तामाङको अवस्था अझै अज्ञात रहेको छ । प्रहरी खोजी कार्य जारी राखिरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

