उमेश बि.क /नवलपरासी ,४ फागुन
नेपाली कांग्रेसले नवलपरासीको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत सुनवलबाट चुनावी अभियानलाई औपचारिक रूपमा तीव्र बनाएको छ। ४ माघदेखि सुरु गरिएको घरदैलो कार्यक्रममार्फत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भिमबहादुर थापा (भरत थापा) मतदाताको घर–घरमा पुगेर समर्थन मागिरहेका छन्।

सुनवल नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका थापाले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाउँदै चुनावी मैदानमा उत्रिएको बताएका छन्। वडा नं. ४ को मुख्य बजार क्षेत्रमा आयोजित घरदैलोका क्रममा उनले “समृद्ध सुनवल” निर्माणका लागि आवश्यक परे सदन र पार्टीभित्र जुनसुकै संघर्ष गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

थापाले सामाजिक, आर्थिक र भौगोलिक सन्तुलित विकासका लागि कांग्रेससँग स्पष्ट कार्ययोजना रहेको दाबी गर्दै स्थानीय आर्थिक उकासोमा विशेष जोड दिएका छन्। उनले सुनवलको पर्यटन सम्भावनालाई केन्द्रमा राख्दै महलपोखरी, हिलपार्क, वन वाटिका र बाबा बरगोरिया क्षेत्रलाई एकीकृत रूपमा विकास गरी सुनवललाई ‘पर्यटन हब’ बनाउने योजना सार्वजनिक गरे।

आजको कार्यक्रमअन्तर्गत थापा र समानुपातिक उम्मेदवार सुनिता देवी श्रेष्ठ वडा नं. १ र ४ मा मतदाता भेटघाटमा व्यस्त छन्। अभियान शुभारम्भ कार्यक्रममा पार्टीका जिल्ला तथा क्षेत्रीय नेतृत्वसहित विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा मतदातामा उत्साह देखिएको दाबी गर्दै स्थानीयले अनुभवी नेतृत्व पाएकोमा सकारात्मक प्रतिक्रिया दिएको कांग्रेस स्रोतले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा सुनवलमा चुनावी माहोल थप तातिने संकेत देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

