आरपि उपाध्याय / नवलपरासी ,९ भदौ
श्रीकृष्ण प्रणामी सेवा समिति त्रिवेणी धाम नवलपुरको वार्षिक साधारणसभा त्रिवेणी धाममा सम्पन्न भएको छ।
कृष्ण प्रणामी सेवा समिति त्रिवेणीका अध्यक्ष जवाहिर गुप्ताको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका कृष्ण प्रणामी सेवा समितिका केन्द्रिय उपाध्यक्ष बद्री प्रसाद ओलीले मन्दिरमा प्रवेश हुँदा मन,मस्तिष्क पवित्र हुने हुँदा मन्दिर सबैको साझा धरोहर भएकोले साझा धरोहर निर्माण कार्यमा पनि सबैको सामुहिक जिम्मेवारी रहने बताउनु भयो।

धर्म भनेको एक आपसमा सहयोग, आत्मियता,सकारात्मक सोच भएकोले मानव कल्याणको लागि स्थापित धर्मबाट नै सबै मानव जातिको हित हुने हुँदा यस कुरालाई सबैले मनन गर्नुपर्ने पनि उहाँले जिकिर गर्नुभयो।
कार्यक्रममा अर्का केन्द्रिय उपाध्यक्ष गोपाल कृष्ण सन्जेलले त्रिवेणीमा रहेकोे कृष्ण प्रणामी मन्दिरबाट भगवान कृष्णद्वारा प्रतिपादित शिक्षा प्रवाह भइरहेकोेले यो शिक्षा युवा र बालबालिकातर्फ पनि लागू गर्न सबै पक्ष क्रियाशिल रहनुपर्ने धारणा राख्दै मानिसमा हुने अवगुणलाई हटाएर असल गुण प्राप्त गर्न सेवा समितिद्वारा चालिएको क्रियाकलापलाई सबैले आत्मसात गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्याम के.सी. ले मन्दिरको आयव्यय सार्वजनिक गर्दै मन्दिर व्यवस्थापन समिति र मन्दिरका पिठाधिसले पालन गर्नुपर्ने आचारसंहिता बारे जानकारी गराउदै सम्बन्धित सबै पक्षले व्यक्तिगत स्वार्थ त्याग गरि कृष्ण प्रणामी सेवा समितिको लक्ष्यलाई गन्तव्यमा पुर्याउन सबैको सहयोग हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा मुरली कृष्ण खनाल,बिमला यादव,मन्दिरका महन्त चिरञ्जीवी चौधरी,अमृत भण्डारी,समितिका पुर्व अध्यक्ष नरेश जैसवाल,पत्रकार आर.पि. उपाध्याय लगायतले मन्दिरमा हुँदै आएको विकृति र विसंगतिलाई हटाइ नयाँ सोच र धार्मिक लक्ष्य प्राप्तिको लागि अगाडि बढ्नुपर्ने विषयवस्तु माथि प्रकाश पार्नुभएको थियो।
फलहारी बाबा प्रेम दासको व्यक्तिगत स्वामित्वको रुपमा रहेको अचल सम्पत्तिलाई २०६७ सालमा कृष्ण प्रणामी सेवा समितिको नाममा दिए पश्चात् मन्दिरको थप गतिविधि सञ्चालन हुँदै आएको छ।
मन्दिरको नाममा सुस्ता गाउँपालिकामा ७ बिगाहा जग्गा रहेपनी उक्त जमिनको ठेक्का बापतको वास्तविक रकम मन्दिरले प्राप्त गर्न नसकेकोमा साधारणसभामा त्यस्ता खाले प्रथा अन्त्य गरिनुपर्ने केही सदस्यहरुले ध्यानाकर्षण गराएका थिए।
साधारणसभामा केन्द्रिय सदस्य बबिता पाण्डे लगायत ठूलो सङ्ख्यामा कृष्ण प्रणामी सेवा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्दिर र धर्मको नाममा अधार्मिक,अशिष्ट र अभद्र व्यवहार कसैले कसैमाथि पनि गर्न नहुने बारे खबरदारी गराइएको जानकारीमा आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

