Rashtriya Dainik

नवलपरासीमा रासायनिक मलको अभाव: राजनीतिक दलहरूको विरोध प्रदर्शन, सरकारसँग आपूर्ति माग

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ साउन

पश्चिम नवलपरासीमा रासायनिक मलको अभावले किसानलाई गम्भीर समस्या सिर्जना गरेको छ। यसैको विरोधमा विभिन्न राजनीतिक दलहरूको सङ्घीय लोकतान्त्रिक मोर्चाले आज सदरमुकाम परासीमा धर्ना र विरोध प्रदर्शन गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, र जनता प्रगतिशील पार्टी लगायतका दलका नेता र कार्यकर्ताहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका छन्। खडेरी र मलको अभावका कारण उत्पादन घट्ने अवस्था आएको छ र यसका लागि किसानलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिएका छन।

पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड परासीका अनुसार जिल्ला भरी १८ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डीएपी मलको आवश्यकता छ,जबकि हालसम्म जम्मा आठ हजार मेट्रिक टन मल मात्रै उपलब्ध भएको छ। यस अभावका कारण किसानहरूले खेतीमा आवश्यक मलको प्रयोग गर्न पाएका छैनन् र उत्पादनमा ठूलो गिरावट आएको छ।

“धान गोडेर मल हाल्ने समय आयो, तर पर्याप्त मल नपाउँदा किसानको चिन्ता बढेको छ। मल वितरणमा पनि विभेद गरिएको छ,” जनता समाजवादी पार्टी नेपालका अध्यक्ष धरेन्द्र यादवले भने। उनका अनुसार, यस समस्यामा तत्कालीन समाधान नआएमा क्षेत्रको कृषि व्यवसाय र किसानहरूको भविष्य अन्धकारमा पर्नेछ।

विरोध प्रदर्शनमा सहभागी दलका नेताहरूले सरकारसँग तत्काल मल आपूर्ति र किसानको क्षतिपूर्ति माग गरेका छन्। उनीहरूको भनाइ छ, “हामी किसानको पक्षमा लडिरहेका छौं। सरकारले यो समस्यामा गम्भीर ध्यान दिनुपर्छ, अन्यथा आगामी चुनावमा यसको परिणाम विकराल हुनेछ।”

नवलपरासीका किसानहरूको जीवनस्तरसँग प्रत्यक्ष जोडिएको रासायनिक मलको अभावले कृषि उत्पादनको स्तरलाई असर पारेको छ। यस अभावको परिणामस्वरूप, किसानहरू आर्थिक रूपमा नोक्सान भोगिरहेका छन् र आगामी महिनाहरूमा खाद्यान्नको मूल्य वृद्धिको संभावना पनि देखिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित