उमेश बि.क / नवलपरासी ,२८ साउन
नेपालमा जलवायु परिवर्तनको असर दिन प्रतिदिन गम्भीर बन्दै गएको छ। यसले पर्यावरणीय संकटसँगै मानव जीवन र स्वास्थ्यमा पनि भयंकर प्रभाव पारिरहेको छ। नेपालमा वायु प्रदूषण र जलवायु परिवर्तनका प्रभावहरूको बारेमा चिन्ता व्यक्त गर्दै सुस्ता गाउँपालिकामा एक महत्वपूर्ण संवाद कार्यक्रम सम्पन्न गरिएको छ।

वायु प्रदूषण र यसले स्वास्थ्यमा पर्ने असरलाई जनचेतना फैलाउनु उद्देश्य सहित “वायु प्रदूषणको संकट र हाम्रो साझा दायित्व” विषयमा आयोजना गरिएको कार्यक्रम सुस्ता गाउँपालिकाको सहयोग तथा रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी र परासी प्रेस क्लबको समन्वयमा संबाद कार्यक्रम भएको थियो।

कार्यक्रममा प्रस्तुत तथ्याङ्कका अनुसार, नेपालमा झन्डै ९९ प्रतिशत मानिसहरू दूषित हावामा बस्दैछन्। यसका कारण प्रत्येक वर्ष ४२ हजार भन्दा बढी मानिसहरूको मृत्यु वायु प्रदूषणसँग जोडिएको छ। खासगरी २.५ माइक्रोनभन्दा साना कणहरू भएका हावाले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पुर्याउँछ।

नेपाल रेडक्रस रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीकाे सभापति राजेन्द्र अग्रहरीकाे अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष उपाध्यायले वायु प्रदूषणको न्यूनीकरणका लागि पालिका स्तरमा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “शहरसँगै ग्रामीण क्षेत्रको प्रदूषण पनि बढिरहेको छ, जसका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। तराई क्षेत्रमा गहुँ, धान लगायतका बाली थन्क्याइसकेपछि खेतमा आगो लगाउने परम्पराले प्रदूषण बढाउँछ, यसलाई नियन्त्रण गर्न स्थानीय स्तरबाट कडा कदम चाल्न आवश्यक छ।” अध्यक्ष उपाध्यायले प्रदूषण न्यूनीकरण र सरसफाइका लागि प्रत्येक वडामा डम्पिङ साइड निर्माण गर्न प्रयास गरिरहेको जानकारी दिए। उनले थपे, “कानूनी अभाव र यथेष्ट निगरानीको अभावले प्रदूषण नियन्त्रणमा समस्या आउँछ, त्यसैले थप कानूनी सुधार र समन्वयको आवश्यकता छ।”

कार्यक्रममा उद्योग र कृषि क्षेत्रका विभिन्न क्रियाकलापहरूको समेत उल्लेख गरियो, जसले वायु प्रदूषणलाई बढावा दिन्छ। ग्रामीण क्षेत्रमा रहेका चिनी उद्योग, सिमेन्ट उद्योग, इँटा उद्योग र अन्य कारखानाहरूले वातावरणमा हानिकारक धुँवा र ग्याँस उत्सर्जन गर्छन्, जसका कारण वायु प्रदूषण अत्यधिक वृद्धि भएको छ।

त्यस्तै कृषि क्षेत्रमा बाली थन्क्याइसकेपछि खेतमा आगो लगाउने प्रचलनले पनि प्रदूषणको स्तर उच्च बनाएको छ। यसले वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ।
कार्यक्रममा रेडक्रस सोसाइटीका जलवायु परिवर्तन परियोजना संयोजक अनुप खड्काले, वायु प्रदूषण न्यूनीकरण र स्वास्थ्यमा पर्ने असरको बारेमा सहभागीहरुलाई जानकारी गराएका छन्। उनले भने, “जलवायु परिवर्तनको कारण मौसममा आएको परिवर्तन, अनावृष्टि र अतिवृष्टिका कारण कृषि उत्पादनमा पनि गम्भीर असर पर्न थालेको छ। यसका लागि दीर्घकालीन समाधान र ठोस नीति आवश्यक छ।”

कार्यक्रममा पत्रकार , जनप्रतिनिधि ,रेडक्रस र विभिन्न सरोकारवाला संस्था तथा व्यक्तिहरूले समस्याका समाधानका उपायहरूको बारेमा छलफल गरे।

सरोकारवालाहरुको अनुसार, जलवायु परिवर्तन र वायु प्रदूषणको समाधान मात्र सरकारी नीतिहरूबाट सम्भव छैन। यसका लागि सबै नागरिक, उद्योग र स्थानीय तहको सक्रियता र सहयोग आवश्यक छ। प्रदूषण नियन्त्रणका लागि कडा कानूनी कदम र जनचेतना अभियानको आवश्यकता छ।

जलवायु परिवर्तन र वायु प्रदूषणको संकटले नेपालमा ठूलो चुनौती प्रस्तुत गरेको छ। यसलाई रोक्नका लागि सरकारी, निजी क्षेत्र र नागरिक समाजका सबै पक्षहरूले मिलेर काम गर्नुपर्ने आवश्यक देखिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

