आरपि उपाध्याय /नवलपरासी ,२६ पुस
नेपाल अधिराज्यकै प्रमुख धार्मिक धरोहर मध्ये एक पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ को त्रिवेणी धाममा आउदो माघे अमावस्याका दिन अन्तर्राष्ट्रिय स्तरको धार्मिक मेला लाग्ने भएको छ।
आउदै गरेको माघ १६ गते लाग्ने त्रिवेणी मेलालाई सभ्य र भव्य ढङ्गबाट सम्पन्न गर्न विनयी त्रिवेणी वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहको अध्यक्षतामा २५ सदस्यीय मेला व्यवस्थापन मुल समिती गठन भएको हो।
विनयी त्रिवेणी वडा न.६ र ७ अन्तर्गतका राजनीतिक दल,जनप्रतिनिधि,संघ संस्थाका प्रतिनिधि,स्थानीय सुरक्षा निकाय,पुर्व जनप्रतिनिधि र सञ्चारकर्मीहरुको संयुक्त भेलाले मेला व्यवस्थापन मुल समिती गठन भएको वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले जानकारी दिनुभएको छ।
मेलामा आउने तिर्थालुहरुलाई कुनै किसिमको कठिनाइ नहोस भन्नका लागि विभिन्न उपसमितिहरु गठन गरिने भएको छ। ती उपसमितिहरुको कार्य विभाजन गरिने जानकारी प्राप्त भएको छ।
मेलालाई भयरहित ढङ्गबाट व्यवस्थापन गर्न स्थानीय स्वयंसेवक गठन गरिने र स्वयंसेवकहरुलाई नेपाल प्रहरीद्वारा प्रशिक्षित गराइ मेलामा परिचालन गर्ने पनि बैठकले निर्णय गरेको छ।
मेलामा शान्ति,सुरक्षालाई परिचालन गर्न नेपाल प्रहरी,सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई पनि परिचालन गर्ने बताइएको छ।
मेलामा बढी भिड हुने स्थानहरु गण्डक ब्यारेज पुल,रानीनगर साइफन, मिलनचोक,ठट्टीयाखोला पुल र नारायणी नदीको स्नान घाटमा विशेष निगरानी सहितको सुरक्षा व्यवस्था मिलाइने तयारी रहेको वडा न.६ का वडा अध्यक्ष शाहले जानकारी दिनुभयो।
त्रिवेणी मेलालाई आकर्षक बनाउन पण्डाघाट व्यवस्थापन,खानेपानी तथा सरसफाइ प्रचारप्रसार,यातायात व्यवस्थापन, अनुगमन समिती गठन गर्ने सहमति सहितको निर्णय भएको जानकारीमा आएको छ।
त्रिवेणी मेलाको नाममा पश्चिम नवलपरासीका केहि गाउँपालिकाद्वारा लिइने व्यवसाय करलाई अभिलम्ब रोकथाम गर्न पालिका अध्यक्ष सहित जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गरिने निर्णय भएको पनि जानकारीमा आएको छ।
सदियौ पुर्वदेखी लाग्दै आएको त्रिवेणी मेलाको आकर्षण र पहिचान बढाउन आउदै गरेको माघ ११ गतेदेखि १९ गतेसम्म त्रिवेणी महोत्सव सञ्चालन गरिने निर्णय यसपुर्व नै भइसकेको छ।

त्रिवेणी महोत्सवको लागि विभिन्न मनोरञ्जनका साधन सहितको स्टलको प्रबन्ध गरिने भएको छ।
त्रिवेणी महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सचिवालय गठन गरि आवश्यक प्रक्रिया सुभारम्भ भइसकेको पनि जानकारी गराइएको छ।

सर्वपक्षीय भेलामा त्रिवेणी गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितीका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसाल,लक्ष्मण प्रसाद गौतम,निरन्जन थापा,प्रीतम बहादुर गुरुङ,ई.प्र.का. त्रिवेणीका स.ई. महेश रायमाझी,भेषराज खनाल,सफला नेपाल,शोभा क्षेत्री लगायतका महानुभावहरुले सुझाव सहितको भनाइ राख्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

