महेश सिंह ,लहान – धनगढीमाई नगरपालिका-७ स्थित श्रमजिवी अस्पतालको प्राङ्गणमा मंगलबार नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टर प्रा.लि.लहानकोआयोजनामा,धनगढीमाई नगरपालिकाको समन्वय र अर्किड पब्लिक सेकेन्डरी स्कूलको प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता टाइम्स इन्स्टिच्युटका संस्थापक भोलाजित नेपालले गर्नुभयो। प्रमुख अतिथिका रूपमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा अर्किड कलेजका प्रिन्सिपल सिएम श्रेष्ठ, श्रमजिवी अस्पतालका सञ्चालक पञ्चलाल महतो, अर्किड कलेजका निर्देशक दीपेश बास्तोला र शिक्षा शाखा प्रमुख सावित्री कुमारी साह सहभागी हुनुहुन्थ्यो।

प्रतियोगितामा नगरका १४ विद्यालय (६ निजी र ८ सामुदायिक)का विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगितामा सुनगाभा स्कूल प्रथम, सगरमाथा प्राज्ञ पीठ दोस्रो र विश्व शान्ति स्कूल, जिरोमाइल तेस्रो स्थानमा रहे। विजयी विद्यालयहरूलाई शिल्ड, प्रमाणपत्र र छात्रवृत्ति प्रदान गरिएको छ।
अर्किड कलेजले विजेताहरूलाई छात्रवृत्ति योजना सार्वजनिक गरेको छ। पहिलो स्थान प्राप्त विद्यार्थीलाई ८० प्रतिशत, दोस्रो स्थानलाई ७० प्रतिशत र तेस्रो स्थानलाई ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिनुभयो। कलेजले प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई करिब २२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा करिब एक हजार दर्शकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। शिक्षा शाखा प्रमुख सावित्री कुमारी साहले यस्ता प्रतियोगिताले विद्यार्थीलाई अध्ययनमा प्रेरणा दिने र भविष्यमा सरकारी सेवामा उच्च स्थान हासिल गर्न मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजक संस्थाका संस्थापक भोलाजित नेपालले प्रतियोगिताले निजी र सामुदायिक विद्यालयहरूबीच समन्वय र सहकार्यको भावना विकास गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो।
प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

