Rashtriya Dainik

पाल्हीनन्दनमा औषधि संकट: हाकिम र स्वास्थ्य शाखा प्रमुखको चरम लापरवाहीले जनताको जीवन जोखिममा

नवलपरासी, २६ मंसिर।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधि १० दिनदेखि अभाव छ। यो समस्या प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थी र स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताको चरम लापरवाही र गैरजिम्मेवारीका कारण भएको सेवाग्राहीहरूले बताएका छन्।

स्वास्थ्य संस्थाहरूमा औषधि नहुँदा बिरामीहरू उपचार विना खाली हात फर्कन बाध्य भएका छन्। गाउँपालिकाभित्र रहेका एक आधारभूत अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र पाँचवटा स्वास्थ्य चौकीमा अहिले अत्यावश्यक औषधि समेत उपलब्ध छैन।

हाकिमको गैरजिम्मेवारी: “म तलब भत्ता खुवाउन मात्रै आएको हुँ”

पाल्हीनन्दनका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीले औषधि अभावको विषयमा गैरजिम्मेवार र अमर्यादित टिप्पणी गरेका छन्। उनले भने, “म यहाँ तलब र भत्ता खुवाउन आएको हुँ, औषधि खरिद जस्ता विषय हेर्न नयाँ हाकिम खोज्न अध्यक्ष ज्यूलाई भनी सकेको छु।”

उनले औषधि खरिद प्रक्रियाका लागि टेन्डर आह्वान गरिएको भए पनि काम पूरा गर्न अझै २० दिन लाग्ने जानकारी दिए। तर, तत्कालका लागि अत्यावश्यक औषधि खरिद गरेर समस्या समाधान गर्न सकिने विकल्प प्रति उदासीनता देखाए। स्थानीय सेवाग्राहीहरूले उनको यो व्यवहारलाई जनताको स्वास्थ्यसँग खेलबाड भएको बताएका छन्।

स्वास्थ्य शाखा प्रमुखको अकर्मण्यता: “मलाई थाहा छैन”

स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले समेत औषधि अभावका लागि आफ्नो जिम्मेवारी अस्वीकार गरे। उनले भने, “मलाई थाहा छैन, यो हाकिमसँग सोध्नुहोस्। मैले औषधि खरिद गर्न प्रस्ताव गरेको थिएँ तर हाकिमले निर्णय गरेनन्।”

गुप्ताको यो गैरजिम्मेवार रवैयाले जनताको स्वास्थ्य अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ। उनी समयमै आवश्यक औषधि व्यवस्थापन गर्न पहल नगरेर बिरामीहरूलाई थप समस्यामा पार्न जिम्मेवार रहेको सेवाग्राहीहरूले बताए।

सेवाग्राहीको भोगाइ: अस्पतालमा सिटामोल पनि छैन

लोहरौलीस्थित आधारभूत अस्पतालमा उपचार गराउन गएका सेवाग्राहीहरूले सिटामोलजस्तो सामान्य औषधि समेत नपाएको गुनासो गरेका छन्। एक बिरामीले भने, “हामी गरिब जनता सरकारी औषधि पाउने आशामा अस्पताल पुग्छौं, तर यहाँ औषधि नै छैन। कर्मचारीहरू भन्छन्, ‘औषधि छैन, कहाँबाट दिने?'”

अर्की सेवाग्राहीले भनिन्, “स्वास्थ्य संस्थामा जाँदा गाउँपालिकालाई दोष लगाउँछन्, गाउँपालिकामा जाँदा स्वास्थ्य संस्थालाई देखाउँछन्। यस्तो अवस्थामा बिरामी भएर कहाँ जाने?”

निजी क्लिनिकको महँगो शुल्कले मारमा बिरामी

स्वास्थ्य चौकी र अस्पतालमा औषधि उपलब्ध नभएपछि बिरामीहरू निजी क्लिनिकबाट महँगो शुल्क तिरेर औषधि किन्न बाध्य भएका छन्। सामान्य रोगका लागि समेत महँगो औषधि किन्ने अवस्था सिर्जना हुँदा जनताको आक्रोश बढेको छ।

स्वास्थ्य अधिकृत सूर्यनारायण चौधरीका अनुसार, स्वास्थ्य चौकीहरूले औषधिका लागि माग गरेको एक महिना भन्दा बढी समय बितिसक्दा पनि पालिकाले औषधि उपलब्ध गराउन सकेको छैन। उनले भने, “सिटामोलका चार/पाँच चक्की पनि उपलब्ध छैनन्। यो अवस्था अत्यन्त गम्भीर हो।”

जनताको स्वास्थ्यसँग खेलबाड

हाकिम र स्वास्थ्य शाखा प्रमुखबीचको आपसी तिक्तता र प्रशासनिक असक्षमताका कारण गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरू सञ्चालनमा समस्याहरू थपिएको छ। सेवाग्राहीहरूले औषधि खरिद प्रक्रिया लामो समयसम्म अल्झाइराखेको र जनताको स्वास्थ्य अधिकारमाथि खेलबाड गरेको आरोप लगाएका छन्।

जनताको माग: तत्काल औषधि आपूर्ति गरियोस्

सेवाग्राहीहरूले तत्काल औषधि आपूर्ति गरी स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न माग गरेका छन्। उनीहरूले हाकिम र स्वास्थ्य शाखा प्रमुखलाई जिम्मेवारीबाट मुक्त गरी जनउत्तरदायी कर्मचारीको नियुक्ति गर्न पनि माग गरेका छन्।

पाल्हीनन्दन गाउँपालिकामा औषधि अभावका कारण जनताको स्वास्थ्य जोखिममा परेको छ। यस विषयमा जनप्रतिनिधिहरूले पनि तत्काल ध्यान दिनुपर्ने र स्वास्थ्य सेवा सुधार गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित