रंजीत शर्मा/ नवलपरासी, २६ मंसिर।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्विचन्द्र अस्पतालमा दरबन्दी अनुसार डाक्टर नियुक्त गर्न संघ र प्रदेश सरकारलाई दबाब दिन नवलपरासीका ६ राजनीतिक दलले माग गरेका छन्।
नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, र जनता प्रगतिशील पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै तथा पत्रकार सम्मेलन गरी यो माग अघि सारेका हुन्।
पत्रकार सम्मेलनमा दलका नेताहरूले पृथ्विचन्द्र अस्पतालले विगतका वर्षहरूमा राम्रो सेवा दिए पनि पछिल्लो समय राजनीतिक हस्तक्षेप र मेडिकल सुपरिन्टेन्डेन्ट बन्ने प्रतिस्पर्धाका कारण अस्पतालको सेवा प्रभावित भएको बताए।
जसपा नेपालका अध्यक्ष धरेन्द्र यादवले ११औं तहको दरबन्दी हुँदाहुँदै ७औं र ८औं तहका डाक्टरहरूले मे.सु. बन्न खोज्दा अस्पतालमा उपचार सेवा प्रभावित भएको बताए। उनले यस्तो कदमले नियमविपरीत काम मात्र नभई वरिष्ठ डाक्टरलाई कार्य सम्पादनमा नैतिक संकट निम्त्याएको उल्लेख गरे।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य बुद्धन अलिले १०औं र ११औं तहका डाक्टर दरबन्दी अनुसार नियुक्त गर्न सरोकारवालालाई दबाब दिन र अस्पतालको अव्यवस्थाबारे जनतालाई जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए। उनले माग सम्बोधन नभए ६ दल मिलेर चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिए।
हाल अस्पतालका तीनजना विशेषज्ञ डाक्टर हड्डी रोग, नाक कान घाँटी, र बाल रोग विभागकाले राजनीतिक हस्तक्षेपका कारण राजीनामा दिएका छन्। यसले अस्पतालको सेवा थप प्रभावित बनाएको छ।

पृथ्विचन्द्र अस्पताल व्यवस्थापन समितिमा जसपा नेपालको नेतृत्व रहेको भए पनि व्यवस्थापन पक्ष असफल भएको आरोप अन्य दलहरूले लगाएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

