Rashtriya Dainik

दुर्बिनडाँडाको खानेपानीको मुहान संरक्षणमा वडा अध्यक्ष तामाङको सक्रियता ।।।

विनोद मण्डल, सिरहा (मंसिर २१) ।
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ दुर्बिनडाँडामा अवस्थित खानेपानी ट्याङ्की संरक्षणको लागि वडा अध्यक्ष सूर्यमान तामाङले विशेष सक्रियता देखाएका छन्। स्थानीय सरे खोलाले कटान सुरु गरेपछि चिन्तित बनेका अध्यक्ष तामाङले खानेपानी आयोजनाको संरचना जोगाउन विभिन्न तह र तप्कामा हारगुहार गर्दै संरक्षण अभियानमा जुटेका हुन्।

करिब ४१ घरधुरी लाभान्वित हुने उक्त खानेपानी भौतिक संरचना निर्माणमा तामाङले खेलेको भूमिका निकै उल्लेखनीय मानिन्छ। स्थानीय बासिन्दाको दैनिकीमा सुधार ल्याउने उक्त परियोजना भौतिक संरचनाको संरक्षण नहुँदा जोखिममा पर्ने देखिएको थियो।

पानीको मूहानमा सरे खोलाको कटान तीव्र भएपछि वडा अध्यक्ष तामाङले खाडो नदी नियन्त्रण परियोजना, सप्तरी–राजविराजसँग समन्वय गरी तत्काल क्रियाकलाप सुरु गराएका थिए। खोलाको कटानले संरचना जोखिममा पारेको अवस्थामा उनले क्रेटजाली र तटबन्धनको कार्य अघि बढाएका थिए।

खोलाको छेउमा क्रेटजालीसहित तटबन्धन सम्पन्न गरिएपछि खानेपानी आयोजनाको संरचना अहिले सुरक्षित बनेको छ। अध्यक्ष तामाङको सक्रियताले उक्त क्षेत्रका स्थानीयवासीले पुनः निर्बाध रूपमा स्वच्छ खानेपानी उपयोग गर्न पाउने भएका छन्।

स्थानीय बासिन्दाले अध्यक्ष तामाङको यो पहललाई अत्यन्तै सराहनीय भन्दै धन्यवाद व्यक्त गरेका छन्। संरक्षणको यो कार्यले समुदायमा खानेपानी आयोजनाको महत्त्वमात्रै नभई जनप्रतिनिधिको उत्तरदायित्वप्रतिको निष्ठालाई पनि उजागर गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित