Rashtriya Dainik

सिरहाको विद्यालयमा नियम उल्लङ्घन,जयराम कार्कीलाई पदबाट हटाउन अभिभावकको माग

बिनाेद मण्डल/सिरहा ,१७ मंसिर ।

सिरहा जिल्लाको धनगढीमाई–१२ स्थित श्री तुलसीराम सत्यभामा माध्यामिक विद्यालयमा निमित्त प्रधानाध्यापक जयराम कार्कीको जिम्मेवारी विवादमा तानिएको छ । नियम र कानुनको उल्लङ्घन गर्दै गरिएको उनको जिम्मेवारी खारेज गर्न अभिभावक तथा स्थानीयवासीहरूले माग गरेका छन् । विद्यालयमा राजनीति र हैकमवादको प्रभुत्वले शैक्षिक वातावरण खल्बलिएको भन्दै कार्कीको पदावधि समाप्त पार्न आह्वान गरिएको छ ।

तत्कालीन प्रधानाध्यापक बलराम भक्त श्रेष्ठको बिरामी अवस्थाको फाइदा उठाउँदै, आफ्ना निकट मानिने जयराम कार्कीलाई टिका लगाएर निमित्त प्रधानाध्यापक बनाइएको थियो । बलराम भक्त श्रेष्ठको निधनपछि कानुनी प्रक्रिया र वरिष्ठताको बेवास्ता गर्दै कार्कीले पद सम्हालेका छन् ।

तर, विद्यालयमा कार्कीभन्दा वरिष्ठ शिक्षकहरू किशोर शाह, चन्द्र नारायण चौधरी, र नीलु कुमारी झा जस्ता योग्य व्यक्तिहरू हुँदा-हुँदै उनीहरूको उपेक्षा गरेर कार्कीलाई नियुक्त गर्नु अन्यायपूर्ण रहेको आरोप छ ।

विद्यालयका अभिभावकहरूले जयराम कार्कीलाई प्रधानाध्यापक मान्न अस्वीकार गर्दै आएका छन् । उनीहरूले विद्यालयमा शैक्षिक सुधारको सट्टा राजनीति र व्यक्तिगत स्वार्थको खेल चलिरहेको आरोप लगाएका छन् ।

जयराम कार्कीले आफ्नो पद जोगाउन स्थानीय नेताहरू र प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क गरिरहेको छ । तर, कानुनी प्रक्रिया अनुसार उनले प्रधानाध्यापक बन्ने योग्यता नभएको दाबी गरिएको छ ।

स्थानीय युवाहरूले विद्यालय व्यवस्थापनका अनियमितता र कानुनी उल्लङ्घनको विरोध गर्दै आन्दोलनको तयारी गरेका छन् । श्रोतका अनुसार विद्यालय सुधारका लागि आमरण अनशनसमेत घोषणा गरिन सक्ने संभावना छ ।

विद्यालयका विद्यार्थी, अभिभावक, र स्थानीयले कार्कीको नियुक्ति खारेज गरी वरिष्ठ र योग्य शिक्षकलाई प्रधानाध्यापक बनाउने माग गरेका छन् । उनीहरूले विद्यालयको शैक्षिक सुधारका लागि कानुनी प्रक्रिया पालन गर्न स्थानीय प्रशासनलाई दबाब दिएका छन् ।

विद्यालयजस्तो पवित्र संस्थामा राजनीति र हैकमवादको प्रभुत्वले शिक्षा प्रणालीमा परेको प्रभावप्रति अभिभावक र स्थानीय बासिन्दाहरू चिन्तित छन् । जयराम कार्कीलाई कानुनी प्रक्रियाबाहिर प्रधानाध्यापक बनाइनु र उनको मर्यादा बाहिरको क्रियाकलापले विद्यालयको गरिमामा आँच पुर्‍याएको छ ।

स्थानीय प्रशासनले तत्काल हस्तक्षेप गरी विवाद समाधान गर्नुपर्ने र विद्यालयको शैक्षिक वातावरण सुधारका लागि न्यायोचित कदम चाल्नुपर्ने स्थानीयको माग रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित