Rashtriya Dainik

स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै

काठमाडौं, मंसिर १६ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् ।

यसैगरी, रासस प्रतिनिधिले सप्तरीको राजविराजबाट सम्प्रेषण गरेको समाचारमा डाक्नेश्वरी नगरपालिका वडा नं। १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ । दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं.१ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा नं. ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार डाक्नेश्वरी नगरपालिका– १ मा दुई हजार ६३५ र वडा – ४ मा एक हजार २८१ मतदाता छन् ।

दैलेखस्थित रासस समाचादाताका अनुसार महावु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गर्नुभएको छ । उक्त निर्वाचनमा सात उम्मेवारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त वडामा एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको सिमकोटस्थित हाम्रा समाचारदाताले जनाएका छन् । सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित