Rashtriya Dainik

रामग्राम जेसीजद्धारा ५० जना महिलाहरुलाई सशक्तीकरणका लागि कानूनी शिक्षा प्रशिक्षण

नवलपरासी , १५ मंसिर । पश्चिम नवलपरासीको रामग्राम–१५ र १६ नम्बर वडास्थित ग्रामीण क्षेत्रका महिलाहरुलाई शसक्तीकरणका लागि कानूनी सचेतना सम्बन्धि प्रशिक्षण दिईएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय संस्था रामग्राम जेसीजको आयोजनामा शुक्रौलीमा उक्त कार्यक्रम गरिएको हो ।


तालिममा विशेषगरी महिलाहरुले परिवार तथा समुदायमा भोग्दै आएका कानूनी अड्चन,समस्याहरुसँग सम्बन्धित अंशवण्डा,सम्बन्ध विच्छेद, घरेलु हिंसा,बोक्सीको आरोपमा गरिने अमानवीय व्यवहार,विवाह,पारिवारिक सम्बन्ध, जग्गा किचलो लगायत महिला शसक्तीकरणका लागि नेपालको संविधान र मुलुकी देवानी संहितामा उल्लेख गरिएका हक अधिकारका विषयमा अधिवक्ता भवराज पाण्डेयले प्रशिक्षण दिनुभएको रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । धेरै कार्यक्रम शहर क्षेत्रका महिलालाई लक्षित गरिने तर ग्रामीण क्षेत्रका महिला महिलामा कानुन सम्बन्धि आधारभूत जानकारी पनि नहुदाँ महिलाहरु हिंसा सहेर बस्नुपरेकोले महिलालाई सशक्त बनाउन प्रशिक्षण सहयोगीसिद्ध हुने अध्यक्ष पौडेलले बताउनुभयो ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुंवरले ग्रामीण क्षेत्रका महिलाहरुले विभिन्न किसिमका हिंसाहरु खेप्दै आएको बताउँदै यस किसिमका कार्यक्रमले हिंसा न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिमबाट प्राप्त गरेका कानुन सम्बन्धि ज्ञानहरु आफ्नो घर,परिवार तथा समुदायलाई पनि जानकारी गराएर हिंसामा परेका महिलाहरुलाई स्थानीय तहको न्यायिक समिति वा प्रहरीमा उजुरी गर्ने र न्यायको पहुँचमा पुर्याउने एवं पीडकलाई कारवाहीको दायरामा ल्याउन पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


कार्यक्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार बस्याल,प्रशिक्षक अधिवक्ता भवराज पाण्डेय,साना किसान कृषि सहकारी संस्था हकुईकी अध्यक्ष सुमित्रा यादव, साना किसान कृषि सहकारी संस्था शुक्रौलीकी व्यवस्थापक पुनम यादव,जनता मावि शुक्रौलीकी संस्थापक सदस्य ज्ञानु कुँवर, रामग्राम जेसीजका कानुनी सल्लाहकार विष्णुराज राव लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रमका संयोजक एवं रामग्राम जेसीजका सदस्य मनिष गुप्ताले बताउनुभयो । तालिममा सो क्षेत्रका ५० जना महिलाहरुको सहभागिता थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित