Rashtriya Dainik

परासीमा आर्टिभिज्म कार्यशाला सम्पन्न

रञ्जित शर्मा / नवलपरासी

पश्चिम नवलपरासीको परासीमा आज एक विशेष “आर्टिभिज्म कार्यशाला” सम्पन्न भएको छ। कार्यक्रममा कला मार्फत सामाजिक मुद्दाहरूको वकालत गर्ने विषयमा गहन छलफल र अन्तरक्रिया भएको छ। कार्यशाला कार्यक्रम फ्रीडम स्टुडियोको आयोजनामा सम्पन्न भएको हो, जहाँ विभिन्न नागरिक समाज संस्थाका १८ जना युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य कलाको प्रभावकारी प्रयोग गर्दै समाजका ज्वलन्त मुद्दाहरूमा जनचेतना फैलाउने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु थियो। विशेष गरी, हाल समाजमा बढ्दो मीटर ब्याजको समस्या कार्यशालाको केन्द्रीय विषयवस्तु रहेको थियो । मीटर ब्याजले गर्दा पीडित बनेका व्यक्तिहरूको संख्या र समस्या झन् गम्भीर बन्दै गइरहेको परिप्रेक्ष्यमा, सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन कला प्रयोगको विविध सम्भावना बारे सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यशालामा प्रशिक्षकहरूले गीत, कविता, नाटक, चित्रकला, भिडियो, अडियो तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबारे विस्तृत जानकारी गराएका थिए। सहभागीहरूलाई कलाका यी विभिन्न माध्यमहरूको प्रयोग गर्दै कसरी सन्देशलाई जनस्तरसम्म पुर्‍याउन सकिन्छ भन्नेबारे व्यवहारिक प्रशिक्षण पनि दिइयो।

कार्यक्रमको दौरान, सहभागीहरूले आफूले सिकेका कुराहरू प्रयोग गरेर मीटर ब्याजको समस्या उजागर गर्ने सृजनात्मक प्रस्तुति समेत दिएका थिए । कविता, नाटक, भिडियो र चित्रको माध्यमबाट सहभागीहरूले पीडितहरूको समस्या चित्रण गर्दै आवाज बुलन्द गर्नु पर्नेमा जोड दिएका थिए । प्रस्तुतिका क्रममा मीटर ब्याजको चपेटामा परेका व्यक्तिहरूका कथाहरूलाई कलात्मक ढंगले प्रस्तुत समेत दिएका थिए।

फ्रीडम स्टुडियोका प्रतिनिधि जोत्सना गौतमले भनिन्, “कलाको माध्यमबाट वकालत गर्नु भनेको मुद्दाहरूलाई सिर्जनशील ढंगले अगाडि बढाउनु हो। यसले मात्र जनचेतना फैलाउने होइन, सम्बन्धित निकायहरूको ध्यान खिच्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।”

नवलपरासी जिल्लामा हालसम्म २,०४६ वटा मीटर ब्याजका उजुरी दर्ता भएका छन्। कार्यशालामा सहभागीहरूले आफूले सिकेका सीप र ज्ञान प्रयोग गरेर आगामी दिनमा समाजमा परिवर्तन ल्याउन योगदान दिने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले कलामार्फत वकालतलाई अझ प्रभावकारी बनाउन आवश्यक पर्ने स्रोतसाधन र रणनीतिहरूबारे समूहगत छलफल पनि गरेका थिए। आयोजकले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने र अन्य क्षेत्रका युवाहरूलाई पनि सहभागी गराउने योजना रहेको जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित