Rashtriya Dainik

बर्दघाटमा सहयोगात्मक सिकाइ तथा समालोचनात्मक चिन्तन विधिमा आधारित तालिम

नवलपरासी ,१० मंसीर

समृद्ध समुदाय विकास केन्द्र र स्कुल लाइफ इन नेपाल, डेनमार्कको साझेदारीमा सञ्चालित गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत सहयोगात्मक सिकाइ तथा समालोचनात्मक चिन्तन विधिमा आधारित तीन दिने तालिम कार्यशाला बर्दघाटमा सम्पन्न भएको छ। राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित यस तालिमले सामुदायिक विद्यालयहरूको शिक्षण प्रभावकारितामा सुधार ल्याउन महत्त्वपूर्ण योगदान गरेको छ।


तालिममा जयन्ती आधारभूत विद्यालय, नवदिव्यज्योति आधारभूत विद्यालय, जानकी प्राथमिक विद्यालय, शिरोमणी प्राथमिक विद्यालय, र आम्बास प्राथमिक विद्यालयका शिक्षक-शिक्षिका, बालक्लब पदाधिकारीहरू, र अनुगमन सहजकर्ताहरू गरी ९७ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले तिन दिनको तालिममा सहयोगात्मक सिकाइ र समालोचनात्मक चिन्तन विधीका विभिन्न उपायहरूको व्यावहारिक अभ्यास गरेका थिए।

बालक्लब पदाधिकारीको सक्रिय सहभागिता
तालिममा बालक्लबका पदाधिकारीहरूलाई सहयोगात्मक सिकाइ तथा समालाोचनात्मक शिक्षण विधिको प्रयोगात्मक कक्षाको अभ्यासका लागि शिक्षकको भूमिकामा प्रयोग गरिएको थियो।

तालिमको अन्तिम दिन, सहभागी शिक्षकहरूले बालक्लब पदाधिकारीहरू र राष्ट्रिय माविका विभिन्न कक्षामा प्रत्यक्ष शिक्षण अभ्यास गरे। यसले बालक्लबका सदस्यहरूलाई नेतृत्व विकासका साथै शिक्षण विधिको व्यावहारिक अनुभव प्रदान गरेको परियोजना निर्देशक युवराज चापागार्इले बताउनुभयो ।
यस परियोजनाले हालसम्म ७ वटा विद्यालयको सामुदायिक अंक तालिका कार्यक्रम सम्पन्न गरी अभिभावकहरूको सक्रिय भूमिका सुनिश्चित गरिसकेको समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेले बताउनुभयो । साथै उहाँले कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूको पठन र लेखन सीपको मूल्यांकन गरेपछि, ती नतिजालाई आधार मान्दै यो तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले कुनै सम्झौता नगर्ने र यो वर्ष थप बजेटको समेत व्यवस्था गरिएको बताउनुभयो। यस शिक्षण तालिममा बर्दघाट नगरपालिकाले आर्थिक सहयोग गरेको थियो।


गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत आगामी दिनमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) र शिक्षक अभिभावक संघ (शि.अ.सं.) लाई समितीको भूमिका विषयक तालिम सन्चालन गरीने यस परियोजनाको कार्यक्रम संयोजक सिसम पाण्डेले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित