नवलपरासी , ५ मंसिर ।
पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण सीप सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील संस्था रामग्राम जेसीजको आयोजनामा उक्त विद्यालयको कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीलाई क्षमता विकासका लागि उद्घोषण तालिम प्रदान गरिएको हो ।
विद्यालयका करिब ६० जना विद्यार्थी उद्घोषण प्रशिक्षणमा सहभागि रहेका थिए भने उद्घोषण कलाको विषयमा रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष एवं पत्रकार मोहन पौडेलले सहजीकरण गर्नुभएको थियो । विद्यार्थीको वाककला र क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिम आयोजना गरिएको रामग्राम जेसीजका अध्यक्ष पौडेलले बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै रामग्राम–१५ का वडा अध्यक्ष धनपत यादवले उद्घोषण तालिमले विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्नुका साथै प्रतिभा प्रस्फुटनमा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । रामग्राम जेसीजले वर्ष २०२४ का विभिन्न रचनात्मक तथा उत्कृष्ट कार्यक्रम एवं तालिम मार्फत यस क्षेत्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै आएको बताउँदै वडा अध्यक्ष यादवले युवा नेतृत्व उत्पादन र समाज रुपान्तरणमा रामग्राम जेसीजको भूमिका अतुलनीय रहेको बताउनुभयो ।
रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुँवरले उद्घोषण तालिमले विद्यार्थीमा रहेको क्षमता उजागर गर्दै चौतर्फी विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रामग्राम जेसीजले वर्ष २०२४ मा समाज रुपान्तरणका लागि विभिन्न रचनात्मक कार्यक्रम गरी अमूल्य योगदान गरेको भन्दै प्रशंसा पनि गर्नुभयो ।

रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार बस्याल, विद्यालयका प्रधानाध्यापक एवं रामग्राम जेसीजका शिक्षा संयोजक चन्द्रमणि लम्साल, रामग्राम जेसीज वर्ष २०२४ का उपाध्यक्ष एवं कार्यक्रम संयोजक उमेश कोंहार लगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको रामग्राम जेसीज वर्ष २०२४ का महासचिव मुकेश चौहानले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

