Rashtriya Dainik

नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ बालमैत्री घोषणा

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ कार्तिक

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ५ बालमैत्री स्थानीय शासन घोषणा भएको छ । जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले आज एक कार्यक्रम बिच बालमैत्री वडा घोषणा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख यादवले पश्चिम नवलपरासीका स्थानीय तहहरु क्रमश बालमैत्री स्थानीय शासनमा गएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा बालमैत्री घोषणा उन्मुख रहेका छन् ‘ बालबालिका विरुद्ध हुने सबैखाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध नगर बनाउन सबै नगरबासीले सहयोग गर्नुपर्नेमा यादवले जोड दिनुभयो ।

कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले आगामी ३ बर्ष भित्र नगरलाई बालमैत्री घोषणा गर्ने तयारीका साथ बर्दघाट नगरपालिका अगाडि बढेको बताउनु भयो । ‘अर्को बर्ष ४र५ वटा वडा बालमैत्री घोषणा गर्ने तयारी साथ कार्ययोजना बनाएर अगाडी बढेका छौं ।’ श्रेष्ठले भन्नुभयो । आजका बालबालिका भोलिका कर्णधार भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासनको मार्फत स्थानीय स्तरमा हुने हरेक कार्यक्रममा बालबालिकाको सहभागिता बढाउँदै लगिने श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बालबालिकाले आफुलाई सुरक्षित महसुस गरेमा बालमैत्री घोषणाको मर्मले सार्थकता पाउने बताउनु भयो ।

१६ वटा वडा रहेको नगरमा ‘बालबालिकामा लगानी, ल्याउँछ सुनौली विहानी’ भन्ने मुल नाराका साथ बर्दघाट नगरपालिकामै दोस्रो बालमैत्री वडाको रुपमा वडा नम्बर ५ घोषणा भएको हो ।

२०७६ देखि बालमैत्री अभियान सुरु गरेको वडामा ६ वटा टोलमा ७ सय १५ घर परिवारमा ३ हजार ४ सय ९७ जनसंख्या रहेको वडा अध्यक्ष बिमला गुरुङले बताउनु भयो । वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका- २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यबिधि -२०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र संस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको छ ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रकाश खनालले बालमैत्री स्थानीय शासन अनुसार समुदायले स्वमित्व लिदै बालमैत्री कायम गर्नु पर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले घोषणा गरेको बालमैत्री घोषणा समुदायले कायम गरी बालबालिकाका अधिकार शुरक्षित गर्दै अगाडि बढ्नु पर्ने खनालको भनाइ रहेको थियोे ।

कार्यक्रममा बालमैत्री सहजकर्ता शर्मीला पौडेलले उमेर नपुगी विवाद गर्ने, लागु औषध र सुर्ती जन्य पदार्थको बिक्री बितरणमा केहि चुनौती रहेको उल्लेख गर्दै यसको न्यूनीकरणमा लाग्नु पर्ने धारण राख्नु भयो ।

कार्यक्रममा १ सय २ बर्षका जेष्ठ नागरिक पुरुषोत्तम भट्टराई र भिम कुमारी गुरुङ्ग, स्वास्थ्य सस्था, स्वास्थ्य कर्मी, टोल विकास सस्था र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । ८ वटा बाल सन्जाल र १ वटा बाल कल्व रहेको छ । बालमैत्री वडा घोषणा गर्नमा विभिन्न तवरबाट सहयोग गर्ने आमा समुह, क्लब, टोल विकास सस्थालगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा पन्चेवाजा, विद्यार्थीहरुले सांस्कृतिक झलक समेत प्रस्तुत गरेका थिए ।

सात वटा पालिकाहरु रहेको नवलपरासीमा सुनवल र रामग्राम नगरपालिका बालमैत्री घोषणा भइसकेका छन् । भने बर्दघाट नगरपालिकाका वडा नम्बर ९ र ५ गरी दुई वटा वडा बालमैत्री घोषणा भएको छ । त्यस्तै सरावल गाउँपालिका वडा नम्बर १ बालमैत्री घोषणा भएको छ भने वडा नम्बर २ प्रक्रियामा रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित