काठमाडौँ । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आ-आफ्ना उद्योग, प्रतिष्ठान तथा कार्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रसँग आग्रह गरेको छ ।
सरकारबाट निर्वाचनका सन्दर्भमा सरकारी कार्यालय र सार्वजनिक निकायमा दुई दिन बिदा दिने निर्णय भएको जनाउँदै गृह मन्त्रालयले निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयमा यही मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने व्यवस्था गर्न आग्रह गरेको हो ।
मन्त्रालयले निर्वाचनका दिन दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रका छाता सङ्गठनलाई पत्राचार समेत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, वायुसेवा सञ्चालक सङ्घ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रका सबै छाता सङ्गठनलाई पत्राचार गर्दै निर्वाचनका समयमा दुई दिन बिदा दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले यसअघि सरकारी तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ तथा विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस्तै त्रिभुवन विश्वविद्यालयले पनि आजदेखि मंसिर ५ गतेसम्म क्याम्पस तथा कार्यालयमा सार्वजनिक बिदा दिइसकेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

