Rashtriya Dainik

भैरहवामा सात करोड बढिको गोल्डेन गेट

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सात करोड बढिको लगानीमा गोल्डेन गेट निर्माण गरेको छ।

सिद्धार्थनगर वडा नं. १ स्थित डण्डा खोला नजिक ७ करोड बढि रकममा गोल्डेन गेट निर्माण गरिएको छ।

नगरपालिकामा निर्वाचित जनप्रतिनिधीले पदबहाली गरे संगै निर्माण प्रक्रिया थालिएको उक्त प्रवेशद्धार सिमानाका बेलहियादेखि एक किलोमिटर अगाडी निर्माण गरिएको भन्दै बेलहियावाशीले असन्तुष्टी जनाएका थिए।

बेलहियाका बासिन्दाले आफुहरुलाई प्रवेशद्धारले सिद्धार्थ नगरसंग अलग गर्न खोजेको गुनासो गर्दै आएका छन्। सिद्धार्थनगरको बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो।

भारतिय सिमानाका हुंदै लुम्बिनी आउने पर्यटकहरुलाई बुद्धजन्मस्थल लुम्बिनी प्रवेश गरेको अनुभुति दिलाउने भन्दै बुद्धत्व झल्किने पर्यटकीय गेट निर्माण गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी बताए।

नगरपालिकाले २०७५ साल मंसीरमा भैरहवाको प्राकृतिक निर्माण सेवासँग प्रवेशद्वार निर्माणको ठेक्का सम्झौता गरि तिनवर्षको अवधीमा निर्माण सम्पन्न गरेको हो।

नगरपालिकाका फिल्ड सुपरभाइजर चेतनारायण ज्ञवालीले गेट निर्माणको ठेक्का सम्झौता गर्दा २०७८ असार २५ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा तोकिएको भएपनि दुईवर्ष देखि फैलिएको कोरोना महामारीका कारण ५ महिना ढिलाई भएको बताए।

नेपाल र बुद्धको चिनारी झल्कने गरी तयार गरिएको प्रवेशद्वारको एडिट कन्सल्टेन्सी काठमाण्डौंले डिजाईन गरेको हो। गेटको डिजाइनपछि पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्ति अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, जनप्रतिनिधि, परामर्शदाता, बौद्धज्ञाता र नगरबासीको छलफलपछि मात्रै पास गरिएको थियो।

प्रवेशद्वारमा बुद्धमूर्ति र स्वयम्भूका आँखासहितको बुद्ध चिनारी, अशोक स्तुपा राखिएको छ। नगरप्रमुख अधिकारीले प्रवेशद्वारले सिद्धार्थनगरको सुन्दरता थपिएको दावी गरे। उनले बुद्ध जन्मभुमि लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगरमा आईपुगेको अनुभुति दिन प्रवेशद्वार निर्माण गरिएको बताए।

५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाई तथा सडकदेखि २९ मिटर अग्लो रहेको उक्त प्रवेशद्वरमा नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्धमूर्ति, हर्निका, आर्च र स्पायर गजूरले सिंगारिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित