राष्ट्रिय दैनिक / नवलपरासी ,७ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महेन्द्र मावि, सरावलमा एकीकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा १६६ जना महिला र ७६ जना पुरुष गरी जम्मा २४२ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविरका क्रममा ५३ जना महिलाको पाठेघरको क्यान्सर (सर्भाइकल क्यान्सर) सम्बन्धी स्क्रिनिङ गरिएकोमा ६ जनामा पोजेटिभ संकेत देखिएको स्वास्थ्य शाखाले जनाएको छ। तीमध्ये १ जनामा क्यान्सर पुष्टि भएको छ भने बाँकी ५ जनालाई थप परीक्षणका लागि सिफारिस गरिएको छ।

शिविरमा प्रयोगशाला परीक्षण सेवा समेत उपलब्ध गराइएको थियो, जसले स्थानीय बासिन्दालाई सहज रूपमा स्वास्थ्य जाँच गराउन मद्दत पुगेको छ।
शिविरमा डा. सुस्मिता उपाध्याय (फिजिसियन), डा. वृन्दा दुंगाना (स्त्री तथा प्रसूति रोग विशेषज्ञ) र डा. अनिस गुप्ता (मेडिकल अधिकृत) सहितको विशेषज्ञ टोलीले सेवा प्रदान गरेका थिए। साथै, सरावल गाउँपालिकाका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारी, पारामेडिक्स, प्रयोगशालाकर्मी तथा अन्य सहयोगी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

यस अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा अझै पहुँचमा पुर्याउन यस्ता शिविरहरू प्रभावकारी भएको बताउनुभयो। उहाँले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिकाले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा पुर्याउने विश्वास लिएको जनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

